काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी तथा मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर दीर्घकालीन समाधान खोज्नुपर्ने बताएकी छन् ।
मंगलबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयअगाडि धर्नामा रहेका वित्तीय पीडितलाई भेट्न पुगेकी पूर्वराष्ट्रपति भण्डारीले आन्दोलनरत महिला तथा पीडितहरूको स्वास्थ्य अवस्थाप्रति चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।
उनले पीडितका माग तथा समस्याबारे जानकारी लिँदै सरकार गम्भीर भएर समाधानका उपाय खोज्नुपर्ने बताइन् । विगतको अन्तरिम सरकारले पीडितका समस्याबारे गरेका सम्झौताको स्मरण गराउँदै उनले वर्तमान सरकारले ती सम्झौताका आधारमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिइन्।
पूर्वराष्ट्रपति भण्डारीले सामाजिक न्यायका लागि भइरहेको पीडितहरूको आन्दोलनप्रति ऐक्यबद्धता पनि जनाइन् ।
भेटका क्रममा आन्दोलनरत पीडितहरूले आफ्ना समस्या तथा पीडा उनीसमक्ष राखेका थिए । पीडितका तर्फबाट एक सहभागीले आफूहरू चार दिनदेखि धर्नामा रहेको र कतिपय पीडित सुनसरीको इनरुवाबाट १९ दिन पैदल यात्रा गरेर काठमाडौं आएको जानकारी गराए।
पीडितहरूले धर्नास्थलमा तत्काल घुम्ती शौचालय तथा सुरक्षित बासस्थानको व्यवस्था गरिदिन पूर्वराष्ट्रपति भण्डारीसँग आग्रह गरे ।लघुवित्त, सहकारी तथा मिटरब्याजका कारण समस्यामा परेको दाबी गर्दै सर्वसाधारणले न्यायको मागसहित पछिल्लो समय काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्।




















