काठमाडौं । सरकारले अनलाइन माध्यमबाट व्यापार–व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप्लिकेसन, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट वस्तु वा सेवा बिक्री गर्ने व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको हो।
विभागले विद्युतीय व्यापार ऐन, २०८१ र विद्युतीय व्यापारसम्बन्धी निर्देशिका, २०८२ अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरेमा कारबाही हुने चेतावनीसमेत दिएको छ।
उपभोक्ता ठगी तथा अनलाइन कारोबारसम्बन्धी गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारलाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन कडाइ थालेको जनाएको छ।
विभागका अनुसार कम्प्युटर, मोबाइल तथा अन्य विद्युतीय उपकरणमार्फत वेबसाइट, एप्लिकेसन, इन्टरनेट, इन्ट्रानेट, सामाजिक सञ्जाल र विभिन्न डिजिटल मार्केटप्लेस प्रयोग गरी वस्तु तथा सेवाको कारोबार गर्ने सबै व्यवसायी सूचीकृत हुनुपर्नेछ।
अनलाइन कारोबारलाई कानुनी दायरामा ल्याउँदै उपभोक्ताको अधिकार संरक्षण र डिजिटल व्यापारको नियमन प्रभावकारी बनाउने उद्देश्यले विभागले व्यवसायीलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।




















