काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशबाट फर्किएका नेपाली उद्यमीको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार बनाउनुपर्ने बताएका छन्।
नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै ढकालले विशेषगरी कोरियाबाट फर्किएका रिटर्नी उद्यमीले हासिल गरेको सीप, कार्यसंस्कृति र पुँजीलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके अर्थतन्त्रमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने बताए।
उनले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध कूटनीतिक तथा सांस्कृतिक सम्बन्धमा मात्र सीमित नरहेको भन्दै आर्थिक र व्यावसायिक साझेदारीका रूपमा समेत विकास भइरहेको बताए। हजारौँ नेपाली युवाले कोरियामा काम गरेर हासिल गरेको सीप, अनुभव र आर्थिक स्रोत नेपालको उद्यमशीलता विकासका लागि बहुमूल्य सम्पत्ति भएको उनको भनाइ थियो।
कोरियाले करिब ६० वर्षको अवधिमा गरिबीबाट औद्योगिक शक्तिका रूपमा गरेको रूपान्तरणबाट नेपालले पनि महत्वपूर्ण पाठ सिक्न सक्ने ढकालले बताए। अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन तथा सरकार र निजी क्षेत्रबीचको प्रभावकारी समन्वय कोरियाको विकासका प्रमुख आधार रहेको उनले उल्लेख गरे।
रिटर्नी उद्यमीले विदेशमा सिकेको अनुशासन, उत्पादकत्व र कार्यसंस्कृतिलाई स्वदेशी उद्योगमा लागू गर्न सके नेपालको औद्योगिक चरित्रमा नै परिवर्तन ल्याउन सकिने उनले बताए।
ढकालले जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना–मझौला उत्पादनमूलक उद्योगमा नेपालमा पर्याप्त लगानी सम्भावना रहेको पनि बताए। भारत र चीनसँगको भौगोलिक निकटता तथा सुधार हुँदै गएको लगानी वातावरणका कारण नेपाललाई क्षेत्रीय उत्पादनको आधारका रूपमा विकास गर्ने अवसर रहेको उनको भनाइ थियो।
लगानीमैत्री नीति निर्माण र एकद्वार सेवाका लागि निजी क्षेत्रले सरकारसँग निरन्तर संवाद गरिरहेको बताउँदै उनले यस अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।
देशभर छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी पनि ढकालले दिए। नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नी उद्यमीका लागि कम्पनीले लगानी साझेदारको भूमिका निर्वाह गर्न सक्ने तथा सानो पुँजी भएका व्यक्तिले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत लगानी गर्न सक्ने उनले बताए।
रिटर्नी उद्यमी–व्यवसायीसँग रहेको प्राविधिक सीप, कार्यसंस्कृति र आर्थिक अनुशासन नेपालको उद्योग क्षेत्रका लागि महत्वपूर्ण आवश्यकता रहेको ढकालले बताए। स्वदेशमा उद्यम स्थापना गर्दा देखिने कानुनी तथा प्रक्रियागत अवरोध सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच नियमित संवादमार्फत समाधान गर्न सकिने उनको भनाइ थियो।
रिटर्नी उद्यमीको लगानी र सीपमार्फत स्वदेशमा उत्पादन, रोजगारी र समृद्धिको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गर्दै ढकालले एफएनसीसीआई र आइएमई ग्रुपका तर्फबाट आवश्यक सहयोग र सहकार्यका लागि आफूहरू सधैँ तयार रहेको प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत, कोरियाली दूतावासका कर्मचारी, नेपाल सरकारका प्रतिनिधि, रिटर्नी माइग्रेन्टलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।




















