सुनसरी । कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आएकी छिन् । जङ्गलबाट निगुरो सङ्कलन गरेर बिक्री गर्दा लगानी नचाहिने भएकाले यसबाट राम्रो आम्दानी हुने गरेको उनको भनाइ छ ।
सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीमा सङ्कलन गरिएको निगुरो काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारसम्म पुग्ने गरेको छ ।
अर्की स्थानीय आशादेवीले पनि विगत १५ वर्षदेखि कोशीटप्पु क्षेत्रबाट निगुरो सङ्कलन गरी बिक्री गर्दै आएकी छिन् । उनले दैनिक रु एक हजारदेखि रु दुई हजारसम्मको निगुरो बिक्री गर्ने गरेको बताइन् ।
‘बिहान सबेरै उठेर कोशीटप्पु क्षेत्रमा निगुरो खोज्न जान्छु र त्यहाँबाट ल्याएर यहाँ बिक्री गर्छु । बजार धाउनु पर्दैन, यहीँबाट व्यापारीले सबै खरिद गरेर लैजान्छन्’, उनले भनिन् ।
उनका अनुसार निगुरोको सिजनमा वर्षमा करिब पाँच–छ महिना व्यापार हुने गरेको छ । ‘एकमुस्ट पैसा पाइने भएकाले गर्मीमा बिक्रीका लागि धेरै दुःख पनि गर्नु पर्दैन । निगुरो बिक्री गरेर घरखर्च टार्न सहयोग पुगेको छ’, उनले भनिन् ।
स्थानीय व्यापारी भरतप्रसाद गुप्ताका अनुसार स्थानीयले सङ्कलन गरेर ल्याएको निगुरो जम्मा गरी दैनिक काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा पठाउने गरिएको छ ।
उनका अनुसार कोशीटप्पु क्षेत्र तथा भारतबाट सङ्कलन गरी ल्याइएको निगुरो जम्मा गरेर भन्टाबारीबाट महिनामा रु १२ लाखभन्दा बढीको निगुरो कालीमाटी बजार पठाउने गरिएको छ ।
अर्का व्यापारी रामबहादुर गुप्ताले पनि विगत चार–पाँच वर्षदेखि भन्टाबारीमा निगुरोको खरिद–बिक्री गर्दै आएका छन् । स्थानीयले सङ्कलन गरेर ल्याएको निगुरो खरिद गरी दैनिक काठमाडौँ पठाउने गरिएको उनले बताए ।
‘यहाँ रु १० मा खरिद गरेको निगुरो काठमाडौँमा रु १८ देखि रु २० सम्ममा बिक्री हुन्छ । गाडी भाडालगायतका खर्च कटाउँदा हामीलाई केही नाफा हुन्छ’, उनले भने ।
स्थानीयले सङ्कलन गरेको निगुरो सडकमा बसेर बिक्री गर्नुपर्ने अवस्था नरहेको र व्यापारीले एकमुस्ट खरिद गरिदिने भएकाले सहज भएको गुप्ताले बताए ।
भन्टाबारी बजार क्षेत्रमा दैनिक हाटबजार लाग्ने गरे पनि निगुरोको मौसममा सडकको एक छेउमा छुट्टै निगुरोको व्यापार हुने गरेको छ । वर्षमा करिब छ महिना सञ्चालन हुने उक्त स्थानलाई स्थानीयले ‘निगुरो हाट’ वा निगुरो बिक्री हुने स्थानका रूपमा चिन्ने गरेका छन् । रासस




















