झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गत फागुन २१ गतेको निर्वाचनपछि पहिलोपटक झापा पुगेका छन् ।
इलाममा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज चन्द्रगढी विमानस्थलमा अवतरण गर्नुभई स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका हुन् । विमानस्थलमा उनलाई एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले भव्य स्वागत गरेका थिए । झापाको भद्रपुर विमानस्थलमा ओलीलाई स्वागत गर्न कार्यकर्ताको ठेलमठेल थियो ।
अध्यक्ष ओली आज इलाममै बस्नेछन् । उनी भोलि झापाको बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन कार्यक्रममा सहभागी हुने एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए।
अध्यक्ष ओली इलाम र झापा भ्रमणका क्रममा आज भद्रपुर विमानस्थलमा आइपुग्दा एमाले नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए । एमाले झापाले अध्यक्ष ओलीको स्वागतका लागि विमानस्थलमा उपस्थित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेको छ।
निर्वाचनपछि पहिलोपटक झापा पुगेका अध्यक्ष ओलीको भ्रमणलाई एमालेका स्थानीय नेता–कार्यकर्ताले संगठन सुदृढीकरण तथा पार्टी गतिविधिलाई थप सक्रिय बनाउने अवसरका रूपमा लिएका छन्।




















