काठमाडौँ । सभामुख डीपी अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि र स्वार्थ हाबी हुन नदिन आग्रह गरेका छन्।
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नाट्टा विशुद्ध व्यावसायिक संस्था भएकाले यसलाई राजनीतिक विवादबाट टाढा राख्नुपर्ने बताएका हुन्।
‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ। पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ,’ उनले भने।
सभामुख अर्यालले पर्यटन क्षेत्रका लागि पर्यटकको सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गरे। हवाईजहाज, ट्याक्सी, होटललगायत पर्यटनसँग सम्बन्धित हरेक सेवामा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। त्यसपछि सेवा, व्यवहार र सुविधाले पर्यटकलाई आकर्षित गर्ने उनले बताए।
पर्यटन क्षेत्रमा आवश्यक सुधारका लागि व्यवसायी, सरकार र सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको भन्दै उनले आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न व्यवसायीलाई आग्रह गरे।
काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै सभामुख अर्यालले अहिले सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गरेर निश्चित क्षेत्रमा पर्यटक बसपार्कको व्यवस्था गर्नुपर्ने बताए।
पर्यटनसम्बन्धी प्रस्तावित विधेयकमाथि पर्याप्त बहस र छलफल आवश्यक रहेको उनको भनाइ थियो। आगामी ५० वर्षलाई दृष्टिगत गर्दै दीर्घकालीन सोचका साथ पर्यटनसम्बन्धी कानुन निर्माण गर्नुपर्ने उनले बताए। पर्यटन व्यवसायमा दोस्रो पुस्तालाई समेत आकर्षित गर्ने र प्रवेश गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको सभामुख अर्यालले बताए।
‘नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,’ उनले भने।
विश्वका विभिन्न एयरलाइन्स कम्पनीहरू नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै अर्यालले व्यक्तिगत लाभभन्दा माथि उठेर राष्ट्रिय हित र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताए।
त्यस्तै, उनले नेपाली र विदेशी पर्यटकबीच सेवाका क्रममा कुनै पनि प्रकारको विभेद गर्न नहुनेमा जोड दिए। नेपाली पर्यटकलाई बढी खर्च गरून् भन्ने अपेक्षा राख्ने तर व्यवहारमा विभेद गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
‘होटलमा नेपाली पर्यटक आएर बसिदिऊन्, धेरै खर्च गरून् भन्ने चाहना राख्ने तर व्यवहारमा विभेद गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,’ उनले भने।
पछिल्लो निर्वाचनमा जनताले इतिहासमै पहिलोपटक ठूलो मतसहित सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै सभामुख अर्यालले अब सरकार असफल हुने छुट नरहेको बताए।
‘मुलुक समृद्ध हुनैपर्छ। सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ,’ उनले भने।




















