काठमाडौं । अविरल वर्षापछि मोदीखोलामा आएको बाढीका कारण मन्दिर परिसरमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएपछि उनीहरू मन्दिर परिसरमै फसेका थिए।
उद्धार गरिएकामा पोखरा महानगरपालिका–१८, सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित बिरेठाँटी माध्यमिक विद्यालयमा कार्यरत ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह र मन्दिरका ५२ वर्षीय पुजारी कानिर्माण गिरी रहेका छन्।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार शुक्रबार बिहान करिब २ः१५ बजे मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएपछि उनीहरू मन्दिर परिसरमा फसेका थिए।
घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट रोप रेस्क्यु तथा गोताखोरसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको थियो।
टोलीले शुक्रबार बिहान करिब ८ः१५ बजे तीनै जनालाई सकुशल उद्धार गरेको डीएसपी थापाले जानकारी दिए।




















