काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयमा लामो समय अनुपस्थित शिक्षिकाको हाजिरी तथा बिदाको अभिलेख सच्याएर सरकारी रकम निकासा गरी हिनामिना गरेको आरोपमा सर्लाहीका तत्कालीन प्रधानाध्यापक र एक शिक्षिकाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार सर्लाहीको मलंगवा नगरपालिका–स्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षिका प्रियंका कुमारी सिंहले आपसी मिलेमतोमा सरकारी रकम हिनामिना तथा दुरुपयोग गरेको पाइएको हो।
अनुसन्धानका क्रममा शिक्षिका सिंहले २०७९ साल वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा अनुपस्थित रहे पनि औपचारिक सूचना वा बिदाको निवेदन नदिएको पाइएको आयोगले जनाएको छ। यस्तो अवस्थामा प्रधानाध्यापक यादवले शिक्षा ऐनअनुसार आवश्यक कारबाही गर्नुको सट्टा हाजिरी रजिस्टर खाली राखी बिदा तथा हाजिरीको अभिलेख अद्यावधिक नगरेको आरोप छ।
लामो समयपछि शिक्षिका विद्यालयमा उपस्थित भएपछि एकमुष्ट हाजिरी गराइएको र त्यसमा प्रधानाध्यापक यादवले टिपेक्स लगाई पुनः हाजिरी गराएको आयोगको अनुसन्धानबाट खुलेको छ। सोही आधारमा विद्यालयमा उपस्थित नभएको अवधिको हाजिरी विवरण मलंगवा नगरपालिकामा पेस गरी छुट तलब निकासा माग गरिएको थियो।
आयोगका अनुसार यस प्रक्रियाबाट शिक्षिका सिंहको नाममा रु. २ लाख ९० हजार ४३४ निकासा भएको थियो। अनुसन्धानमा २०७९ साउनदेखि कात्तिकसम्मको रु. २ लाख ४० हजार ९१४ रुपैयाँ ४० पैसा तथा वैशाख, जेठ र असारको रु. १ लाख ३० हजार १२१ रुपैयाँ ७० पैसा समेत गरी जम्मा रु. ३ लाख ७१ हजार ३६ रुपैयाँ १० पैसा बराबरको रकम गैरकानुनी रूपमा निकासा तथा भुक्तानी भएको देखिएको आयोगले जनाएको छ।
सरकारी कागजातमा हेरफेर गरी विद्यालयमा अनुपस्थित शिक्षिकाको नाममा सरकारी रकम निकासा लिई हिनामिना तथा दुरुपयोग गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा १७ बमोजिमको कसुर भएको आयोगको निष्कर्ष छ।
सोही आधारमा आयोगले तत्कालीन प्रधानाध्यापक यादव र शिक्षिका सिंहलाई कानुनबमोजिम सजायको मागदाबी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।




















