उदयपुर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री कार्यालय बिराटनगरमा कांग्रेसका सबै मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएका हुन् ।
झण्डै दुई बर्षपछि कांग्रेस सरकारबाट बाहिरिएसँगै अब कोशी प्रदेश सरकारको प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहने छ । प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको नेपाल कम्युनिष्ट पार्टी र सत्तामा रहेको नेकपा एमालेबीच केन्द्रिय नेतृत्वमा प्रदेश सरकारको समीकरण गर्ने बिषयमा समझदार भएसँगै कांग्रेस बुधबार औपचारिक रुपमा सरकारबाट बाहिरिएको हो ।
सरकारबाट बाहिरिनु अघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको मन्त्रिपरिषद्को बैठक उनीहरु सहभागी रहेका थिए । त्यसक्रममा मुख्यमन्त्री कार्कीले अहिलेसम्मको सहकार्यका लागि धन्यवाद व्यक्त गरेका थिए । प्रदेश सरकारको समीकरणका लागि एमाले र नेकपाबीच समझदारी भएसँगै नेपाली कांग्रेस संसदीय दलले सरकारबाट बाहिरिन आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएको काग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।
कोशी प्रदेश सरकारमा कांग्रेसबाट चार मन्त्री र एक राज्यमन्त्री रहेका थिए । कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री शोभा चेम्जोङ रहेका थिए ।
कांग्रेस र एमालेबीच भएको सहमति अनुसार २०८१ भदौ २८ गते कोशी सरकारमा कांग्रेस सहभागी भएको थियो । त्यसपछि दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा २०८२ पुस २२ गते उनीहरू मन्त्री नियुक्त भएका थिए । केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धन गर्न साउन दोस्रो हप्तामा तीन बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो ।




















