जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको निधन भएको छ। उनको ७९ वर्षको उमेरमा सोमबार राति निधन भएको हो।
बिमलका कान्छा छोरा डा. विभाष लाभका अनुसार सोमबार राति करिब साढे ११ बजे कुराकानी गरिरहेका बेला उनी अचानक बिरामी परेका थिए। उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति पौने १ बजे उनको निधन भएको हो।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ।
बिमलले नेपाली, मैथिली र अंग्रेजी भाषामा विभिन्न साहित्यिक विधामा कलम चलाएका थिए। भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गरेका थिए।
उनी २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा आबद्ध भएका थिए। साहित्य तथा भाषाको क्षेत्रमा योगदान पुर्याएका बिमल जगदम्बाश्री पुरस्कार, ‘मधुपर्क’ लगायत विभिन्न सम्मानबाट सम्मानित भएका थिए।
उनको आज दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने डा. विजय दत्तले जानकारी दिएका छन्।



















