काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी एलपी ग्यास खरिद गरी सञ्चय नगर्न आग्रह गरेको छ । संघले बजारमा ग्यास अभाव हुने हल्लाका कारण उपभोक्ताले अतिरिक्त सिलिन्डर राख्न थालेकाले कृत्रिम अभावको अवस्था सिर्जना भएको जनाएको छ ।
संघका अध्यक्ष दिवानबहादुर चन्दले विज्ञप्ति जारी गर्दै ग्यास अभाव हुने आशंकामा अनावश्यक रूपमा सिलिन्डर सञ्चय तथा जगेडा राख्ने प्रवृत्तिले अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई समेत ग्यास पाउन कठिन भएको बताएका छन् ।
‘ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूले अनावश्यक रूपमा सिलिन्डर सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकताभन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
संघका अनुसार उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्काल समाधान हुने सम्भावना छ । आगामी दिनमा पनि एलपी ग्यासको आपूर्तिमा समस्या नहुने भएकाले अभावको अवस्था आउन सक्ने सम्भावना नरहेको अध्यक्ष चन्दले बताएका छन् ।
नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात हाल करिब १५ प्रतिशतले बढाइएको संघले जनाएको छ । आयात सहज भएसँगै ग्यास उद्योगहरूले सिलिन्डर रिफिलिङ गरी बजारमा पठाउने कामसमेत निरन्तर गरिरहेको संघको भनाइ छ ।
संघले ग्यास विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिएर ग्यास बिक्री तथा वितरण गर्नसमेत आग्रह गरेको छ ।
संघले आपूर्ति सहज भइरहेकाले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगरी नियमित आवश्यकताअनुसार मात्र खरिद गर्न आग्रह गरेको हो ।




















