काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत उपलब्ध गराइएको सरकारी अनुदान दुरुपयोग गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगले केसीसहित पशु अस्पताल तथा सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी, ज्ञानुकुमार शर्मा, शेरबहादुर खड्का, यमबहादुर पुन, मिनबहादुर केसी, मणिराज शाह, जनक बाटाला, वीरबहादुर रोकाया, गोविन्द प्रकाश खड्का र जुनुकुमारी चनेलविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत सञ्चालन भएको दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रमको कार्यविधिविपरीत आठबीसकोट दुग्ध सहकारी संस्थालाई अनुदान उपलब्ध गराइएको थियो। प्रस्ताव मूल्यांकनदेखि सहकारी छनोटसम्मको प्रक्रियामा अनियमितता गरी योग्य नभएको सहकारीलाई सम्झौताविपरीत ९१ लाख १७ हजार ८७३ रुपैयाँ अनुदान उपलब्ध गराइएको आयोगको आरोप छ।
आयोगका अनुसार उक्त अनुदानबाट निर्माण हुनुपर्ने चिस्यान केन्द्र दुई वर्षसम्म पनि सञ्चालनमा आएन। त्यसपछि पनि नगरपालिकाबाट ८० लाख २३ हजार ५१ रुपैयाँ बराबरको अनुदानमा एउटा मिल्क ट्यांकर र दुई वटा सिङ्गल क्याब गाडी खरिद गरिए पनि ती प्रयोगविहीन अवस्थामा राखिएको भेटिएको छ। यसरी सरकारी अनुदानको दुरुपयोग गरी सहकारीलाई गैरकानुनी लाभ र सरकारलाई हानि पुर्याइएको निष्कर्ष अख्तियारले निकालेको छ।
मुद्दा दायर गरिएका व्यक्तिहरूमा नगरप्रमुख रवी केसी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मखराज शाह, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन तथा बहालवाला कर्मचारीहरू, कृषि विकास कार्यालयका एक अधिकारी तथा आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष रहेका छन्।
आयोगले नगरप्रमुख केसी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शाहविरुद्ध ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुलको मागदाबी गरेको छ। अन्य कर्मचारी र सहकारीका पदाधिकारीहरूमाथि पनि उनीहरूको भूमिकाअनुसार ९१ लाख १७ हजार ८७३ रुपैयाँ तथा ८० लाख २३ हजार ५१ रुपैयाँसम्मको बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलको मागसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।




















