काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। साताको चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा अडिएको हो।
अघिल्लो दिन बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको थियो। यसदिन नेप्से घटेपनि कारोबार रकममा भने बुधबारको तुलनामा वृद्धि भएको छ। बुधबार ४ अर्ब ४० करोडको सेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम ४ अर्ब ६२ करोड नाघेको छ।
यसदिन ३४७ वटा स्क्रिप्सको १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ रुपैयाँमा खरिदबिक्री भए। अपर लोहोरे खोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा रिडी पावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
आँखु खोला जलविद्युत कम्पनीले २६ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा सोलु हाइड्रोपावरले २३ करोड,नेसनल हाइड्रो पावरले १९ करोड र कालिञ्चोक हाइड्रोपावरले १६ करोड मूल्य बराबरको कारोबार गरे।
कारोबारमा आएकामध्ये ६४ वटा स्टक्सको मूल्य बढ्दा २०२ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो। ट्रेडिङ समूहको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए। ट्रेडिङ समूहको उपसूचक ०.५९ प्रतिशतले बढ्यो।




















