काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। साह चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन्।
कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले साउन १७ गते अन्तर्वार्ता तथा मूल्यांकनपछि उच्च अंक प्राप्त गरेका तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो।
सिफारिस सूचीमा धनुषाका नागेन्द्र साह, प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव रहेका थिए। तीमध्ये मन्त्रिपरिषद्ले साहलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि सरकारले असार २ गते दरखास्त आह्वान गरेको थियो।




















