काठमाडौं। बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको उक्त टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ।
ग्यास आपूर्ति तथा वितरणमा देखिने तत्कालीन समस्या छिटो समाधान गर्ने उद्देश्यले गठन गरिएको टोलीमा उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग र ग्यास उद्योगीका प्रतिनिधिहरू सहभागी छन्।
टिममा उद्योग मन्त्रालयका तर्फबाट मंगल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगीका तर्फबाट आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।
देशका कुनै पनि क्षेत्रमा एलपी ग्यासको अभाव वा वितरणमा अवरोध देखिएमा सम्बन्धित निकायसँग तत्काल समन्वय गरेर समस्या समाधान गर्ने जिम्मेवारी टोलीलाई दिइएको छ। हटलाइनमा प्राप्त गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर र व्यवसायीसँग समन्वय गरी उपभोक्तासम्म ग्यास आपूर्ति सुनिश्चित गरिने निगमले जनाएको छ।
पछिल्ला दिनमा बजारमा ग्यास अभाव भएपछि उपभोक्ता लामो लाइनमा बस्न बाध्य भएको अवस्थामा सेवा प्रवाहलाई सहज बनाउन यो संयन्त्र सक्रिय बनाइएको हो। कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरी तत्काल समाधान खोजिने निगमले जनाएको छ।
ग्यास आपूर्ति सम्बन्धी समस्या वा गुनासो भएमा उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा प्राप्त सूचनाका आधारमा ‘क्विक रेस्पोन्स टिम’ले आवश्यक समन्वय गरी ग्यास आपूर्ति सहज बनाउने निगमको भनाइ छ।




















