काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्या केही दिनभित्रै समाधान हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई हल्ला वा भ्रमपूर्ण सूचनाको पछि नलाग्न र आवश्यकताभन्दा बढी ग्यास खरिद तथा सञ्चय नगर्न आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा गत वर्षको यही अवधिको तुलनामा यस वर्ष नियमित माग धान्न सक्नेभन्दा बढी परिमाणमा एलपी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सम्बन्धित निकायसँग समन्वय गरी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ। साथै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई पनि तीव्र बनाएको मन्त्रालयले जनाएको छ।
नेपाल आयल निगम र ग्यास उद्योगीसँगको सहकार्यमा ग्यासको आयात, भण्डारण र वितरण प्रक्रियालाई थप पारदर्शी तथा व्यवस्थित बनाउने सुधारका कार्यक्रम अघि बढाइएको छ। वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन पनि मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनविपरीत गतिविधि सञ्चालन गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।




















