काठमाडौं। नर्स ज्योति रानाभाटले सरकारसँग १९ बुँदे सहमति भएपछि आफ्नो आमरण अनशन अन्त्य गरेकी छन्। स्वास्थ्यकर्मीको सेवा–सुविधा, नर्सिङ शिक्षा सुधार तथा नेपाल नर्सिङ परिषद्को सुशासनलगायत विषयमा सहमति जुटेपछि उनले अनशन तोडेकी हुन्।
सरकारका तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र झा र कानुन अधिकृत जयप्रसाद सुवेदी तथा नर्स रानाभाटबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमति स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीकी स्वकीय सचिव प्रकृति ढकाल तथा विभिन्न मन्त्रालयका प्रतिनिधिको रोहबरमा भएको जनाइएको छ।
सहमतिअनुसार नर्स तथा मिडवाइफसहित स्वास्थ्यकर्मीको पारिश्रमिक र सम्मानजनक सेवा–सुविधा निर्धारणका लागि स्वास्थ्य मन्त्रालयले सात दिनभित्र कार्यदल गठन गर्नेछ। उक्त कार्यदलले बढीमा छ महिनाभित्र आफ्नो प्रतिवेदन र सिफारिस तयार गर्ने सहमति भएको छ।
रानाभाटले साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा १५ बुँदे मागसहित आमरण अनशन सुरु गरेकी थिइन्। उनका मागमा स्वास्थ्यकर्मीका लागि सम्मानजनक सेवा–सुविधा, गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा, भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी नेपाल नर्सिङ परिषद् तथा सुरक्षित स्वास्थ्य प्रणाली निर्माणका विषय समेटिएका थिए।
सरकारले ती माग सम्बोधन गर्ने प्रतिबद्धतासहित १९ बुँदे सहमति गरेपछि रानाभाटले आफ्नो आमरण अनशन औपचारिक रूपमा अन्त्य गरेकी हुन्।























