काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुरमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट भट्टराईलाई नियन्त्रणमा लिएको हो। सीआईबीका एसएसपी अनुपम शमशेर जबराले पक्राउको पुष्टि गरेका छन्।
प्रहरीका अनुसार भट्टराईले २०६८ सालमा राहदानी ऐनविपरीतको कसुर गरेको भेटिएको अनुसन्धानबाट खुलेपछि उनलाई पक्राउ गरिएको हो। यस सम्बन्धमा उनीविरुद्ध २०८२ साल चैतमा मुद्दा दर्ता गरिएको थियो।
पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।



















