काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा कार सुनकोशी नदीमा खसेको छ। घटनाबारे सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ परिचालन भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहका अनुसार कार नदीमा खसेको सूचना प्राप्त भएको हो। प्रारम्भिक जानकारीअनुसार बसको ठक्करपछि कार सुनकोशी नदीमा खसेको हुन सक्ने आशंका गरिएको छ।
कारमा कति जना सवार थिए भन्ने विषयमा हालसम्म यकिन हुन नसकेको प्रहरीले जनाएको छ। तर, कारमा तीन-चार जना यात्रु सवार रहेको सूचना आएको बताए। साथै, नदीमा खसेको कारको नम्बर र ठक्कर दिएको भनिएको बसको नम्बर पनि खुल्न बाँकी रहेको एसपी सिंहले बताए।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




















