काठमाडौं । खाना पकाउने ग्यासको आपूर्ति प्रणालीमा फेरि समस्या देखिएको छ। नेपाल आयल निगमले पर्याप्त ग्यास आयात भइरहेको दाबी गरे पनि सहज रुपमा ग्यास नपाएपछि उपभोक्ताहरू डिलर र उद्योगमा लाइन बस्न बाध्य भएका छन्।
यसअघि बजारमा ग्यासको अभाव चर्किएपछि निगमले २०८२ फागुनको अन्तिमतिरदेखि ७.१ किलो ग्यास भएको आधा भरिएको सिलिन्डर बिक्री गर्ने व्यवस्था गरेको थियो। पछि ३१ असारदेखि लागू हुने गरी सबै ग्यास उद्योगलाई पुनः १४.२ किलो तौलका पूरा भरिएका सिलिन्डर मात्र बिक्री गर्न निर्देशन दिएको थियो।
निगमले भारतबाट ग्यास आयात पूर्ण क्षमतामा भइरहेको र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरे पनि उपभोक्ताले भने त्यसको अनुभूति गर्न सकेका छैनन्।
डिलरहरूमा ग्यास नपाएपछि धेरै उपभोक्ता उद्योगमै पुग्न थालेका छन्। बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगको वितरण केन्द्रमा खाली सिलिन्डर बोकेका सयौं उपभोक्ता लामो लाइनमा बसेको दृश्य देखिएको छ।
उपभोक्ताहरूले स्थानीय डिलर र पसलमा ग्यास नपाएपछि बाध्य भएर उद्योगसम्म पुग्नुपरेको गुनासो गरेका छन्। उनीहरूले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको आशंका गर्दै सम्बन्धित निकायबाट प्रभावकारी अनुगमनको माग गरेका छन्।
यता नेपाल आयल निगमले भने बजारमा हल्ला फैलाइएजस्तो ग्यास वा अन्य कुनै पनि पेट्रोलियम पदार्थको अभाव नरहेको दाबी गर्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ।
उपभोक्ताको सहजताका लागि निगमले शनिबारदेखि टेकुस्थित आफ्नो पुरानो कार्यालयबाट नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ब्रान्डका ग्यास सिलिन्डर बिक्री सुरु गरेको छ। तर, त्यहाँ पनि उपभोक्ताको भीड र लामो लाइन देखिएको छ। कतिपय उपभोक्ताले टेकु पुग्दा समेत ग्यास नपाएको गुनासो गरेका छन्।




















