काठमाडौं । थाइल्यान्डबाट ल्याइएको करिब ११ केजी गाँजासहित तीन भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोले शनिबार राति विमानस्थलमा विशेष जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
ब्युरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको लुधियानाका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह तथा हरियाणाको कैरुका २२ वर्षीय साहिल रहेका छन्।
प्रहरीका अनुसार क्याथे प्यासिफिक एयरवेजको उडानमार्फत हङकङ हुँदै काठमाडौं आएका दुई भारतीय नागरिकको सामान जाँच गर्दा थाइल्यान्डबाट ल्याइएको ११ केजी गाँजा फेला परेको थियो।
उक्त गाँजा बुझ्न विमानस्थल पुगेका अर्का भारतीय नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।




















