जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच भएको वार्तापछि १९ बुँदे समझदारी भएको छ। समझदारीसँगै हिन्दू सम्राट सेनाले जारी सबै आन्दोलन तथा विरोधका कार्यक्रम स्थगित गर्ने घोषणा गरेको छ।
जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा चलेको वार्तामा गृहमन्त्री गुरुङको नेतृत्वमा सरकारी टोली र हिन्दू सम्राट सेनाका प्रतिनिधिहरू सहभागी भएका थिए।
हिन्दू सम्राट सेनाका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार यसअघि सरकारलाई बुझाइएको १३ बुँदे मागमा थप ६ बुँदा समेटेर १९ बुँदे प्रस्ताव पेश गरिएको छ। सरकारले ती मागलाई सकारात्मक रूपमा लिँदै कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने सहमति जनाएको उनले बताए।
समझदारीअनुसार आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने, उनीहरूमाथि कुनै मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीमाथि छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।
सरकारी पक्षबाट माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि हिन्दू सम्राट सेनाले तत्कालका लागि सबै आन्दोलन, प्रदर्शन र विरोधका कार्यक्रम फिर्ता लिएको जनाएको छ।
गृहमन्त्री गुरुङले सरकारले यसअघि प्राप्त १३ बुँदे तथा आइतबार बुझाइएको थप ६ बुँदे मागपत्र गरी कुल १९ बुँदे प्रस्ताव सरकारको तर्फबाट औपचारिक रूपमा ग्रहण गरिएको जानकारी दिएका छन्।




















