काठमाडौं । प्रहरीले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार बेलुका ललितपुरबाट उनलाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता अनुपशमशेर जबराका अनुसार स्मार्ट सेल घोटाला प्रकरणमा भण्डारीलाई पक्राउ परेका हुन् ।
सीआईबीका अनुसार स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (बीटीएसएल-०१) नियमानुसार नवीकरण नभएपछि उक्त अनुमतिपत्र २०८० वैशाख २ सम्म स्वतः रद्द भएको थियो । अनुमतिपत्र रद्द भएपछि प्रचलित नियमावलीअनुसार सम्पूर्ण दूरसञ्चार पूर्वाधार,संरचना,प्रणाली तथा सम्पत्ति नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरणको नाममा आउनुपर्ने व्यवस्था रहेको छ।
यस प्रकरणमा ठगी,आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर भण्डारीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। प्रकरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















