काठमाडौं। देशमा सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शुक्रबार काठमाडौंको माइतीघरमण्डलमा नागरिक अगुवाहरूले सद्भाव तथा ऐक्यबद्धता र्याली आयोजना गरेका छन्।
हाल देशका विभिन्न स्थानमा देखिन थालेका द्वन्द्व र तनावपूर्ण घटनाप्रति चिन्ता व्यक्त गर्दै र्यालीमार्फत शान्ति कायम राख्न, सामाजिक सद्भाव सुदृढ बनाउन तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन सार्वजनिक अपिल गरिएको हो।
र्यालीका सहभागीहरूले विशेषगरी तराई–मधेश क्षेत्रमा देखिएको अशान्ति नियन्त्रण गर्न तथा धार्मिक र साम्प्रदायिक द्वन्द्व फैलिन नदिन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। उनीहरूले आपसी सहिष्णुता, मेलमिलाप र सद्भाव कायम राख्दै सामाजिक एकता जोगाउनुपर्नेमा जोड दिएका छन्।
र्यालीमा “एक नेपाली, साझा जिम्मेवारी”, “सबैको सम्मान, सबैको सुरक्षा, सबैको नेपाल” र “विविधतामा एकता, एकतामा शक्ति” लगायतका सन्देशमूलक नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
उक्त र्यालीमा समाजका विभिन्न क्षेत्रका नागरिक अगुवा, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।




















