काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा जोगाउन सबै नागरिकलाई संयमता, सहिष्णुता र जिम्मेवारीका साथ प्रस्तुत हुन अपिल गरेका छन्।
शुक्रबार जारी सन्देशमा आईजीपी कार्कीले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताले समृद्ध देश भए पनि आपसी सम्मान, सहिष्णुता र सद्भावकै आधारमा अघि बढ्दै आएको उल्लेख गरेका छन्। उनले विविधतामा एकता नै नेपालको पहिचान, गौरव र शक्ति भएको बताएका छन्।
उनले धर्म, संस्कार, संस्कृति र आस्था फरक भए पनि सबै नेपालीको साझा लक्ष्य देशको शान्ति, स्थिरता र समृद्धि भएकाले एकअर्काको विश्वास र संस्कृतिप्रति सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
आईजीपी कार्कीले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीत गतिविधिमा संलग्न हुने कार्यले समाजमा तनाव, अविश्वास र विभाजन सिर्जना गर्ने भन्दै यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्। उनका अनुसार यस्ता कार्य कसैको हितमा हुँदैनन्।
पूर्वी तराईका केही क्षेत्रमा धार्मिक सद्भावमा खलल पुग्ने तथा त्रासको वातावरण सिर्जना गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै उनले संवेदनशील अवस्थामा अफवाह र घृणाभन्दा विवेक, संयम र सद्भावको मार्ग अपनाउन सबैलाई आह्वान गरेका छन्।
सन्देशको अन्त्यमा आईजीपी कार्कीले सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी भाइचारा कायम राख्न सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै शान्ति र सहिष्णुताको वातावरण निर्माणमा सहयोग गर्न अपिल गरेका छन्।




















