काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्तपीडितसँग वार्ता गर्न उच्चस्तरीय वार्ता समिति गठन गरेका छन्।
बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। अर्थमन्त्रीले समितिलाई तत्काल पीडित पक्षसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्।
समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिवको जिम्मेवारीमा छन्।
समितिको पहिलो बैठक बिहीबार अर्थ मन्त्रालयमा बस्ने तय भएको छ। बैठकले आन्दोलनरत लघुवित्तपीडितसँग वार्ताको कार्यसूची तय गर्दै आजैदेखि संवाद प्रक्रिया अघि बढाउने जनाइएको छ।



















