काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाबारे सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग स्पष्ट जवाफ माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै नेकपाका सांसद गोपाल शर्माले देवानगञ्ज–कप्तानगञ्ज घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाह स्वयं संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे।
उनले प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै भने, ‘हाम्रा प्रधानमन्त्री कहाँ हुनुहुन्छ? के गर्दै हुनुहुन्छ ? न संसद्लाई जानकारी छ, न जनतालाई।’
सांसद शर्माले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै सरकार संकटका बेला जिम्मेवार र अभिभावकीय भूमिकामा प्रस्तुत हुनुपर्ने बताए।
‘सरकार अभिभावक बन्नुपर्छ कि पर्दैन?’ भन्दै उनले सुनसरी घटनामा सरकारको जिम्मेवारीबारे प्रश्न उठाए।
प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनालाई उल्लेख गर्दै शर्माले गृहमन्त्रीसँग सोधे, ‘सुनसरीको कप्तानगञ्जमा भएको घटनाको जिम्मेवारी स्थानीय तहलाई दिने हो कि नेपाल प्रहरीको कारबाहीको जिम्मेवारी गृहमन्त्री आफैंले लिनुहुन्छ?’
उनले घटनाबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्दै संसद्लाई जानकारी गराउनुपर्ने आवश्यकता पनि औँल्याए।




















