काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रियताजस्तो संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले जिद्दी गर्न नहुने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै राईले प्रधानमन्त्री शाहले गत जेठ १७ गते सीमा विवाद तथा राष्ट्रियतासम्बन्धी दिएको अभिव्यक्ति नसच्याई अडान लिइरहेको आरोप लगाए। उनले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन पुनः माग गरे।
‘अन्य विषयमा जिद्दी गरे पनि राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन,’ राईले भने, ‘मैले यसअघि पनि दुईपटक अभिलेखबाट हटाउन माग गरिसकेको छु। फेरि त्यही माग दोहोर्याउनुपर्ने अवस्था नआओस्।’
राईले मुलुकमा हिंसात्मक गतिविधि बढ्ने संकेत देखिँदा पनि सरकार संवेदनशील बन्न नसकेको आरोप लगाए। ‘देशमा हिंसात्मक द्वन्द्वको अवस्था सिर्जना भइरहँदा पनि सरकार अन्धकारमा बसेर दूरबिन लगाएर देश हेर्दै बसेको छ,’ उनले टिप्पणी गरे। सरकार सञ्चालन गर्न नसके हात उठाउन उनले प्रधानमन्त्री शाहलाई सुझाव पनि दिएका छन् ।
प्रधानमन्त्री शाहले गत जेठ १७ गते संसद्मा दिएको सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले निरन्तर विरोध जनाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्रीबाट स्पष्ट जवाफको माग गर्दै प्रतिनिधिसभामा आफ्नो विरोधलाई जारी राख्ने बताएका छन्।
बिहीबारको बैठकमा नेपाली कांग्रेसकी सांसद बासना थापा, नेकपा ९एमाले०की सांसद पद्मा अर्याललगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा जवाफ दिन माग गरेका छन्।




















