बुटवल । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बुटवलमा नागरिक समाजको अगुवाइमा सद्भाव र्याली आयोजना गरिएको छ।
सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्ने सन्देशसहित ब्यानर प्रदर्शन गर्दै पुष्पलाल चोकदेखि ट्राफिकचोकसम्म र्याली निकालिएको थियो। र्यालीमा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा तथा कानून व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
राष्ट्रिय स्वतन्त्रताका लागि नागरिक मञ्चका अध्यक्ष अधिवक्ता पदम कार्की, सामाजिक अभियन्ता विरेन्द्र विक, मानवअधिकारकर्मी गोविन्द खनाललगायतको नेतृत्वमा आयोजित र्यालीमा नेपालमा सदियौँदेखि कायम सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सबै पक्षसँग अपिल गरिएको थियो।
गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनामा प्रहरीको गोली लागेर ओमप्रकाश महतोको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २० जनाभन्दा बढी घाइते भएका थिए। घटनापछि सुनसरीका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरिएको थियो। उक्त घटनालाई लिएर विराटनगर, सिरहा र सप्तरीमा समेत विरोध प्रदर्शन भएका छन्।
र्यालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै सामाजिक अभियन्ता विरेन्द्र विकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरे।
उनले शान्तिपूर्ण रूपमा आफ्नो धारणा व्यक्त गर्ने नागरिकमाथि अनावश्यक बल प्रयोग, दमन तथा मानवअधिकारविपरीतका गतिविधि नगर्न सरकारलाई आग्रह गरे। साथै सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक तथा सामाजिक संघसंस्था, नागरिक अभियन्ता, बुद्धिजीवी र सञ्चारमाध्यमले संयमता अपनाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए।
विकले मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको सम्पूर्ण उपचारको जिम्मेवारी सरकारले लिनुपर्ने माग पनि गरे।




















