काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनाबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र सरकारको अनुपस्थितिप्रति प्रश्न उठाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुँदै थापाले सुनसरी घटनाजस्तो संवेदनशील विषयमा राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याउने पहल गरेको भन्दै लामिछानेलाई धन्यवाद दिएका छन्।
थापाले सरकारको भूमिका प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै भने, “यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ? सरकार स्टाटसमा सीमित छ। सरकारले अरूलाई विश्वास गर्नुपर्छ।”
उनले यस्तो परिस्थितिमा प्रधानमन्त्रीले स्वयं सर्वदलीय बैठक बोलाएर राष्ट्रपति, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्दै साझा पहल गर्नुपर्ने धारणा राखे।
“यतिखेर प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउने, राष्ट्रपति भेट्ने र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयास गर्नुपर्ने हो,” उनले भने, “विगतका विपत्तिहरूमा पनि राजनीतिक दलहरूले तिक्तता बिर्सेर एकताबद्ध रूपमा काम गरेका थिए।”
थापाले सुनसरीको घटनालाई राज्यको असफलताको परिणाम भएको टिप्पणी गर्दै नेपाली कांग्रेसले पनि घटनाको आन्तरिक समीक्षा गर्ने, तर सरकारलाई अनावश्यक अप्ठ्यारो पार्ने उद्देश्य नराख्ने बताए।
प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै उनले प्रश्न गरे, “यस्तो बेला पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने, ठालू बनेर बस्ने?”
उनले प्रधानमन्त्रीले संवेदनशील परिस्थितिमा सकारात्मक नेतृत्व प्रदर्शन गर्नुपर्ने सन्देश आफ्नो पार्टीका तर्फबाट दिन खोजिएको बताए।
थापाले कांग्रेसका जनप्रतिनिधि र नेताहरूलाई पनि स्थानीय तहमा बैठक राखेर समस्या समाधानका लागि सक्रिय हुन निर्देशन दिइएको जानकारी दिए। साथै, सुनसरीसहित प्रभावित जिल्लाहरूमा थप तनाव सिर्जना हुन नदिन कांग्रेसले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए।
रास्वपाका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएनन्।




















