काठमाडौं । सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका अध्यक्ष आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत शीर्ष नेताहरू सहभागी भएका छन्।
रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र आपसी विश्वास कायम राख्न राजनीतिक दलहरूबाट साझा सन्देश दिन आवश्यक ठहर गर्दै सर्वदलीय बैठक आयोजना गरिएको हो।
उनले प्रशासनिक तहबाट शान्ति–सुरक्षा कायम गर्ने प्रयास जारी रहे पनि राजनीतिक नेतृत्वले संयुक्त रूपमा सद्भाव र संयमको सन्देश दिनुपर्ने आवश्यकता महसुस भएकाले छलफलको आयोजना गरिएको बताए।
बैठकमा सुनसरी घटनापछिको विकसित अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा समसामयिक राष्ट्रिय विषयमा समेत छलफल हुने जनाइएको छ।




















