काठमाडौं। अध्यागमन विभागको नेपाली पोर्ट प्रणाली दुरुपयोग गरी किर्ते आवासीय भिसा जारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतोले अध्यागमन सूचना प्रणालीमा रहेको ट्राभल सेण्टरलाइज सुविधाको दुरुपयोग गरी लक्जेम्बर्गका नागरिकको नाममा जारी भएको आवासीय भिसा किर्ते गरेर अमेरिकी नागरिकको नाममा स्थानान्तरण गरेको अनुसन्धानबाट खुलेको हो।
अनुसन्धानका क्रममा लक्जेम्बर्गका नागरिकको नाममा जारी भएको आवासीय भिसासम्बन्धी सम्पूर्ण अभिलेखलाई आवश्यक कानुनी प्रक्रिया पूरा नगरी, अधिकारप्राप्त अधिकारीबाट निर्णयसमेत नगराई तथा तोकिएको राजस्व नतिरी २०८० फागुन ९ (२१ फेब्रुअरी २०२४) मा अमेरिकी नागरिक डिन जे रोबिन्सनको नाममा प्रणालीमार्फत एकीकृत (ट्राभल सेण्टरलाइज) गरिएको पाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार उक्त भिसा प्रिन्ट गरी अमेरिकी नागरिक डिन जे रोबिन्सनको राहदानीमा टाँसिएको थियो। त्यसपछि उनले सोही राहदानीका आधारमा नेपालमा बसोबास गरेको समेत अनुसन्धानबाट पुष्टि भएको छ।
अख्तियारले सरकारी अभिलेख सुरक्षित राख्नुपर्ने दायित्वविपरीत नेपाली पोर्ट प्रणालीको दुरुपयोग गरी सरकारी अभिलेख सच्याउने, केरमेट गर्ने तथा हेरफेर गरेर नेपाल सरकार र अध्यागमन विभागलाई हानि पुर्याउने कार्य भएको निष्कर्ष निकालेको छ।
यस घटनामा तत्कालीन कम्प्युटर अपरेटर राजिव महतो विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ तथा अमेरिकी नागरिक डिन जे रोबिन्सन विरुद्ध सोही ऐनको दफा २२ अन्तर्गत कसुर गरेको आरोप लगाइएको छ।
उक्त कसुरमा संलग्न दुवै प्रतिवादीलाई कानुनबमोजिम सजायको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।






















