दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वजिल्ला अध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ।
८० वर्षीय बस्नेतको सोमबार उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा निधन भएको एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले पुष्टि गरेका छन्। उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए।
दाङको कम्युनिष्ट आन्दोलनका अग्रणी नेतामध्ये एक मानिने बस्नेतले एमालेको विभिन्न तहमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनको निधनले दाङको कम्युनिष्ट आन्दोलनले एक अनुभवी र समर्पित नेता गुमाएको अध्यक्ष आचार्यले बताएका छन्।
एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीका अनुसार बस्नेतको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि तुलसीपुरस्थित एमाले जिल्ला पार्टी कार्यालयमा राखिएको छ।
उनको आजै दाङको शीतलपुरस्थित बबई नदी घाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको एमालेले जनाएको छ।




















