काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन उग्र बनेपछि नेपाली सेना परिचालन गरिएको छ। आगजनी र तोडफोडका घटना बढ्दै गएपछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणका लागि सेना परिचालन गरेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार सोमबार बिहानदेखि कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा टायर बालिएको, नाराबाजी गरिएको र स्थिति तनावग्रस्त बनेपछि सुरक्षाकर्मीलाई नियन्त्रणमा लिन कठिन भएको थियो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिए पनि बढ्दो भीड नियन्त्रण गर्न नसकेपछि बख्तरबन्द गाडीसहित अत्याधुनिक हतियार बोकेको नेपाली सेनाको टोली मैदानमा खटाइएको प्रशासनले जनाएको छ। सेनाको टोली घटनास्थल पुगेपछि प्रदर्शनकारीलाई क्रमशः तितरबितर पारिएको र अवस्था नियन्त्रणतर्फ उन्मुख भएको बताइएको छ।
प्रहरीका अनुसार सेनाको टोली पुग्नुअघि प्रदर्शनकारीले पाँच वटा पसलमा तोडफोड तथा आगजनी गरेका थिए। एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत गर्ने ग्यारेज र तीन वटा किराना पसलमा तोडफोड गरी भित्र रहेका सामान सडकमा निकालेर आगो लगाइएको प्रहरीले जनाएको छ।
यसअघि आइतबार राति देवानगञ्जमा दुई समूहबीच भएको झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको थियो। उक्त घटनामा सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्।
घटनापछि स्थानीय प्रशासनले देवानगञ्जसहित आसपासका संवेदनशील क्षेत्रमा कर्फ्यु जारी राख्दै सुरक्षा व्यवस्था थप कडा बनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।




















