काठमाडौं । नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक दुई महिला मृत अवस्थामा फेला परेका छन्। अचेत अवस्थामा उद्धार गरिएका दुवै महिलालाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई हाल गैंडाकोट–१२ हर्कपुरमा ज्याला मजदुरी गर्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट–१० पितौजीस्थित गाई फार्ममा कार्यरत करिब ४५ वर्षीया कान्छी राई रहेको प्रहरीले जनाएको छ।
पूर्व–पश्चिम राजमार्गको बायाँपट्टि अकलामाई मन्दिर नजिकको चौरमा दुई महिला अचेत अवस्थामा रहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि उनीहरूलाई तत्काल उद्धार गरी भेडाबारीस्थित नगर अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट बियरका बोतल र कुरमुरेका प्याकेट फेला परेको प्रहरीले जनाएको छ। यद्यपि मृतक दुवैको शरीरमा बाह्य चोटपटक नदेखिएको र मृत्युको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको प्रकृति तथा मृत्युको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाएको छ।




















