काठमाडौं । नागढुंगा सुरुङमार्ग उद्घाटनको तयारी भइरहेका बेला स्थानीय बासिन्दाले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन्।
सुरुङमार्ग उद्घाटन हुनुअघि नै स्थानीयले कालो झण्डा, प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन्। नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको आह्वानमा भएको प्रदर्शनमा सयौं स्थानीयको सहभागिता रहेको छ।
संघर्ष समितिले सुरुङमार्ग क्षेत्रमा यथाशीघ्र आकाशे पुल निर्माण गर्न, सडकपेटी फराकिलो बनाउन, आयोजनाबाट प्रभावित स्थानीयलाई रोजगारी सुनिश्चित गर्न, जेब्रा क्रसिङ र ट्राफिक लाइटको व्यवस्था गर्न तथा सुरुङमार्गस्थित फ्लाईओभरको नाम ‘किसिपिडी फ्लाईओभर’ कायम गर्नुपर्ने माग अघि सारेको छ।
स्थानीयले सुरुङमार्ग सञ्चालनसँगै बढ्न सक्ने सवारी चाप र पैदलयात्रीको सुरक्षालाई ध्यानमा राखी आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग माग गरेका छन्। उद्घाटन कार्यक्रमलाई लक्षित गरी सुरक्षाको व्यवस्था पनि कडा पारिएको छ।




















