धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३५ वर्षीय ज्योति चौधरीको आत्मदाह प्रयासपछि उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले साउन ९ गते साँझ करिब ७ः३० बजे आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि आफन्तले तत्काल उद्धार गरी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याएका थिए।
प्रहरीका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। अवस्था गम्भीर रहेकाले प्रारम्भिक उपचारपछि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। त्यसपछि परिवारले थप उपचारका लागि काठमाडौं लैजाने निर्णय गरेको थियो।
तर काठमाडौंतर्फ लैजाँदै गर्दा धादिङ पुगेपछि बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
चौधरीले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




















