काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। स्ववियुले व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिनुपर्ने पनि जनाएको छ।
स्ववियु अध्यक्ष दीपक जोशीले दुई दिनभित्र घटनाको निष्पक्ष छानबिन गरी प्रश्नपत्र कसरी बाहिरियो, यसमा कसको संलग्नता थियो भन्ने तथ्य सार्वजनिक गर्न माग गरे। उनका अनुसार दोषीमाथि कानुनी कारबाही नभए डीन र सहायक डीनले पद छाड्नुपर्ने अवस्था आउनेछ।
यस घटनामा नेपाल प्रहरीले प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुई जनालाई पक्राउ गरिसकेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेकामध्ये एक जना ‘सुलभ सर’ नामले परिचित व्यक्ति रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रश्नपत्र बाहिरिएको घटनापछि शिक्षामन्त्री सस्मित पोखरेलले शनिबार राति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गरी संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए। त्यसपछि मन्त्रालयमा सम्बन्धित अधिकारी र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग पनि छलफल गर्दै छानबिन समिति गठनलगायत विषयमा परामर्श गरिएको थियो।
घटनाको अनुसन्धानका लागि छुट्टै छानबिन समिति गठन भइसकेको छ।
साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र सामाजिक सञ्जाल र ह्वाट्सएप समूहमा सार्वजनिक भएको थियो। सार्वजनिक भएका स्क्रिनसटमा ‘एमबीएस फर्स्ट सेम सेक्शन–सी’ नामक ह्वाट्सएप समूहमा प्रश्नपत्र र त्यसका उत्तरसमेत आदानप्रदान भएको देखिएको छ।
स्क्रिनसटअनुसार ‘सुलभ सर’ नामबाट सञ्चालित खाताले परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र तथा पछि समाधान पठाएको देखिन्छ। समूहमा सहभागी विद्यार्थीहरूले आगामी परीक्षाका प्रश्नसमेत उपलब्ध गराइदिन अनुरोध गरेको र त्यसमा सकारात्मक प्रतिक्रिया दिइएको संवाद सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको हो।
घटनापछि विभिन्न विद्यार्थी संगठनहरूले निष्पक्ष छानबिनको माग गरेका छन्। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डीन कार्यालयले पनि प्रश्नपत्र बाहिरिएको विषयलाई गम्भीर रूपमा लिँदै नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरी संलग्न व्यक्ति, संस्था वा परीक्षा केन्द्रको पहिचान गरेर कानुनी कारबाही अघि बढाउन अनुरोध गरेको छ।




















