काठमाडौं । बहुप्रतीक्षित नागढुंगा सुरुङमार्गको उद्घाटन सोमबार हुने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार उद्घाटन कार्यक्रम सोमबार बिहान १०ः३० बजे हुनेछ। सोही कार्यक्रममा सहभागी हुन जाइका अध्यक्ष अकिहिको आइतबार नेपाल आउँदै छन्।
उद्घाटनपछि पहिलो चरणमा दमकल, एम्बुलेन्सलगायत आपत्कालीन प्रयोजनका सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइनेछ। त्यसपछि चरणबद्ध रूपमा अन्य निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गरिने सरकारको योजना छ।
सुरुङमार्गको सञ्चालन तथा मर्मतसम्भारका लागि गत वैशाख १६ गते युसिन–एआरटी जेभीसँग सम्झौता भएको थियो। चिनियाँ कम्पनी युसिन र नेपाली कम्पनी एआरटीको संयुक्त उपक्रमले १ अर्ब १० करोड ४० लाख रुपैयाँमा पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापन गर्नेछ।
नागढुंगा उकालोको ट्राफिक जाम घटाउने उद्देश्यले सडक विभागले सन् २०१३ मा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरेको थियो। आयोजना २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, मुआब्जा विवाद र स्थानीय अवरोधका कारण निर्माण कार्यमा ढिलाइ भएको थियो।
करिब २९ अर्ब रुपैयाँ लागतको यो आयोजना अन्तर्गत २.६८८ किलोमिटर लामो मुख्य सुरुङ र २.५५७ किलोमिटर लामो आपत्कालीन सुरुङ निर्माण गरिएको छ। सुरुङभित्र ३.५ मिटर चौडाइका दुई लेन, बीचमा १.५ मिटरको मेडियन तथा दुवैतर्फ ढल निकासको व्यवस्था गरिएको छ। काठमाडौंतर्फ २.३०७ किलोमिटर र धादिङतर्फ ०.५६५ किलोमिटर एप्रोच सडकसमेत निर्माण गरिएको छ।
मुख्य सुरुङको ‘ब्रेक थ्रु’ २०८१ असार ३ गते सम्पन्न भएको थियो भने त्यसअघि २०८० साउन २२ गते आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ गरिएको थियो।
यी सवारीसाधनलाई प्रवेश निषेध
सुरुङमार्गमा पैदलयात्री, दुईपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन सञ्चालन गर्न पाइने छैन।
यस्तो छ सुरुङमार्गको शुल्क
सरकारले सुरुङमार्ग प्रयोगका लागि सवारीसाधनअनुसार शुल्क निर्धारण गरेको छ।
कार तथा भ्यान: काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ
मिनीबस तथा टिपर: प्रवेश गर्दा ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ
बस तथा ट्रक: प्रवेश गर्दा २६० रुपैयाँ, बाहिरिँदा २०० रुपैयाँ
हेभी ट्रक: प्रवेश गर्दा ६०० रुपैयाँ, बाहिरिँदा २५० रुपैयाँ




















