काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकार लामो समय टिक्ने अवस्था नरहेको दाबी गरेका छन् । नाटकीय रूपमा उदाएको राजनीतिक शक्तिको पतन पनि त्यत्तिकै छिटो हुने उनको भनाइ छ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पपुलिज्म, अराजकतावाद (एनार्किज्म) र अवसरवाद (अपर्च्युनिज्म)का कारण बनेको सरकार दीर्घकालीन चुनौती नहुने बताए।
‘आज वालेन्द्र सरकार पपुलिज्म, एनार्किज्म र अपर्च्युनिज्मका कारण बनेको हो। यो लामो समयको चुनौती हो भन्ने लाग्दैन। कुनै पनि शक्तिको उदय जति छिटो हुन्छ, त्यसको पतन पनि त्यति नै छिटो हुने सम्भावना रहन्छ। यो विज्ञानको कुरा हो,” उनले भने ।
उनले रास्वपाको उदय नाटकीय रूपमा भएको उल्लेख गर्दै त्यसको पतन पनि त्यस्तै हुने दाबी गरे ।
यद्यपि, रास्वपा सरकार असफल भएलगत्तै जनमत स्वतः एमालेतर्फ फर्किनेमा भने आफू ढुक्क नरहेको उनको भनाइ थियो।
“उनीहरूको पतनपछिको भविष्य हामीले चाहेजस्तो हुन्छ कि हुँदैन, त्यो भन्न सकिन्न। एउटा पपुलिज्मको असफलतामा अर्को पपुलिज्मले ठाउँ लिन खोज्न सक्छ। त्यसैले रास्वपा सरकारको असफलतापछि जनमत हामीतिर नै फर्किन्छ भनेर ढुक्क भएर बस्न सकिँदैन,” उनले बताए।
महासचिव पोखरेलले नेपालका वामपन्थी दलहरूले आफूहरूले काम गरेका वर्ग र समुदायसम्म आफ्ना उपलब्धि प्रभावकारी रूपमा पुर्याउन नसकेको पनि स्वीकार गरे ।




















