सिरहा । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ।
गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीमाथि पनि सर्वसाधारणसरह कानुन लागू हुनुपर्ने आवाज उठेको थियो।
उक्त घटनापछि ट्राफिक प्रहरीले उनलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा ५ सय रुपैयाँ जरिबाना गरेको हो।
जरिबानापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले कानुन सबैका लागि समान भएको सन्देश गएको भन्दै कारबाहीको स्वागत गरेका छन् भने केहीले ५ सय रुपैयाँको जरिबाना पर्याप्त नभएको टिप्पणी गरेका छन्।
आलोचना बढेपछि सांसद गुप्ताले फेसबुकमार्फत सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। उनले बाल्यकाल बिताएको ठाउँमा पुग्दा पुराना सम्झनाले भावुक बनाएको र रमाइलोका क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा ट्राफिक नियम उल्लंघन भएको महसुस गरेको बताएका छन्।
उनले भविष्यमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँदै आफूबाट जानी वा नजानी भएको त्रुटिप्रति क्षमा मागेका छन्।
यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ५ सय रुपैयाँ जरिबाना गरेको थियो। त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) पनि ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाहीमा परेका थिए।




















