काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले पुनः कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्।
प्रधानन्यायाधीश शर्माको अनुपस्थितिमा सर्वोच्च अदालतको नेतृत्व गर्ने जिम्मेवारी मल्ललाई दिइएको हो। उनी सर्वोच्च अदालतकी सबैभन्दा वरिष्ठ न्यायाधीश हुन्।
यसअघि पनि शर्मा प्रधानन्यायाधीश नियुक्त हुनुअघि मल्लले लामो समय कामु प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतको नेतृत्व गरेकी थिइन्। तर प्रधानन्यायाधीशमा आफूभन्दा चौथो वरीयताका न्यायाधीश डा. शर्मा नियुक्त भएपछि उनी असन्तुष्ट बनेकी थिइन्। त्यसक्रममा उनले प्रधानन्यायाधीशको पदभार ग्रहण कार्यक्रममा समेत सहभागिता जनाएकी थिइनन् र त्यसपछि २० दिनको बिदा लिएकी थिइन्।
यद्यपि, सार्वजनिक रूपमा देखिएको असन्तुष्टिबीच बिहीबार साँझ भारत प्रस्थान गर्नुअघि प्रधानन्यायाधीश शर्मालाई बिदाइ गर्न भने मल्ल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।
गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। त्यसअनुसार उनी जेठ ५ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए।
प्रधानन्यायाधीश नियुक्तिपछिको अवधिमा संवैधानिक इजलास गठनलाई लिएर पनि विवाद भएको थियो। वरिष्ठ न्यायाधीशहरूसँग मतभेद रहेको चर्चा भइरहेका बेला शर्माले संवैधानिक इजलास आफैंले गठन गर्दै वरिष्ठतम् तीन न्यायाधीशलाई त्यसमा समावेश नगरेका थिए।
भारतको सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तको निमन्त्रणामा बिहीबार प्रधानन्यायाधीश शर्मा नेतृत्वको टोली भारत भ्रमणमा गएको हो। भ्रमणका क्रममा भारतीय सर्वोच्च अदालतको अवलोकन तथा न्यायिक अनुभव आदानप्रदानका कार्यक्रम तय गरिएको छ।
भ्रमण टोलीमा प्रधानन्यायाधीशकी पत्नी उमा शर्मा र सर्वोच्च अदालतका सह–रजिस्ट्रार अमित उप्रेती सहभागी छन्। सर्वोच्च अदालतका अनुसार प्रधानन्यायाधीश शर्मा साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।




















