काठमाडौं । बीमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको मुद्दामा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौं महानगरपालिका–७ सिफलबाट रिमाललाई पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका–७ कै बासिन्दा रिमाल नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्।
सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार रिमाललाई बीमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत दर्ता भएको मुद्दामा पक्राउ गरिएको हो। उक्त मुद्दामा उनी दीपक भट्टसँग जोडिएका प्रतिवादी रहेका छन्।
पक्राउपछि रिमाललाई आवश्यक कानुनी प्रक्रियाका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।
जिल्ला अदालत काठमाडौंमा गत जेठ २८ गते मुद्दा दायर हुँदा रिमाल फरार रहेका कारण उनलाई फरार प्रतिवादी कायम गर्दै अभियोगपत्र दर्ता गरिएको थियो।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि विशेष अदालतमा मुद्दा दायर भइसकेको छ। जिल्ला अदालतमा थुनछेक आदेश आएपछि यो मुद्दामा पनि उनलाई उपस्थित गराइने बताइएको छ ।




















