काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट शक्तिहरू एकताबद्ध भए मात्र मुलुकले सामना गरिरहेका राजनीतिक, आर्थिक र राष्ट्रिय चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न सकिने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार जारी गरेको सन्देशमा खनालले पुष्पलालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालमा कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन उनको योगदान ऐतिहासिक रहेको उल्लेख गरेका छन्।
‘कमरेड पुष्पलाल हाम्रो देशको कम्युनिस्ट आन्दोलनका प्रणेता तथा संस्थापक नेता हुनुहुन्छ। उहाँले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका लागि स्पष्ट वैचारिक मार्गनिर्देशन गर्नुभएको थियो,’ सन्देशमा खनालले उल्लेख गरेका छन्।
उनका अनुसार पुष्पलालको मार्गदर्शनलाई आधार बनाएर नेपालमा जनवादी क्रान्ति सम्पन्न भएको, संविधानसभामार्फत संविधान निर्माण भएको तथा समाजवादी रूपान्तरणतर्फ अघि बढ्ने आधार तयार भएको हो।
खनालले पछिल्लो समय कम्युनिस्ट आन्दोलनको नेतृत्व दक्षिणपन्थी विचलनतर्फ गएको दाबी गर्दै त्यसकै कारण मुलुक जटिल राजनीतिक, आर्थिक तथा राष्ट्रिय समस्याको सामना गरिरहेको बताएका छन्। उनले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र र संविधानले सुनिश्चित गरेका जनअधिकारमाथि विभिन्न प्रकारका चुनौती देखापरेको उल्लेख गरेका छन्।
यस्तो परिस्थितिमा सही क्रान्तिकारी कार्यदिशाका आधारमा नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरण आवश्यक रहेको उनको भनाइ छ। साथै, सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिबीच फराकिलो एकता, सहकार्य र साझा पहल आजको ऐतिहासिक आवश्यकता बनेको उनले बताएका छन्।
खनालले पुष्पलालले प्रतिपादन गरेको राष्ट्रिय स्वाधीनता, जनताको सर्वोच्चता, प्रगतिशील परिवर्तन, संयुक्त आन्दोलन र वाम एकताको मार्गलाई आत्मसात् गर्दै वर्तमान चुनौतीहरूको सामना गर्नु नै पुष्पलालप्रति सच्चा सम्मान हुने उल्लेख गरेका छन्। उनले नेपाली विशेषताको वैज्ञानिक समाजवादको लक्ष्य हासिल गर्न सबै वाम शक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।




















