काठमाडौं । तामाकोशी नदीमा आएको बाढीले दोलखाको किर्नेटार क्षेत्रमा सडक कटान गरेपछि मन्थली–चरिकोट सडकखण्डअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
बीपी राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको पुष्पलाल राजमार्गको किर्नेटार खण्डमा बुधबार मध्यराति बाढीले सडक बगाएपछि दोलखालाई तराईसँग जोड्ने मुख्य सडक सम्पर्क विच्छेद भएको हो।
सडक अवरुद्ध भएसँगै दोलखाबाट तराई तथा कोशी प्रदेशका विभिन्न जिल्लातर्फ जाने र सिन्धुली तथा रामेछाप हुँदै दोलखा आउने सवारीसाधनको आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी मनोज लामाका अनुसार तामाकोशी नदीमा आएको बाढीका कारण सडक क्षतिग्रस्त भएपछि यातायात सञ्चालन रोकिएको हो।
उनले सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिँदै स्थानीय तह, सडक विभाग, खिम्ती जलविद्युत् आयोजना, वडा कार्यालय तथा सुरक्षा निकायका प्रतिनिधिबीच वैकल्पिक मार्ग सञ्चालन र राजमार्ग पुनः सञ्चालनबारे समन्वय भइरहेको बताए।
प्रशासनले यात्रुहरूलाई वैकल्पिक व्यवस्था नभएसम्म उक्त सडक प्रयोग नगर्न र सम्बन्धित निकायको सूचनालाई ध्यानमा राख्न आग्रह गरेको छ।




















