काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको भन्दै दार्चुलाबाट साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।
बुधबार जारी प्रेस विज्ञप्तिमार्फत डा. केसीले सरकारले आफ्ना माग सम्बोधन गर्न तत्परता नदेखाएकाले सत्याग्रहमा बस्न बाध्य भएको बताएका हुन्। यसअघि उनले साउन ५ गतेसम्म माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका थिए।
विज्ञप्तिमा उनले सरकारले तोकिएको समयसीमा पूर्ण रूपमा बेवास्ता गरेको उल्लेख गर्दै जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षा सुधारका विषयमा सरकार संवेदनशील नदेखिएको आरोप लगाएका छन्।
डा. केसीले “हाम्रा जायज मागहरू साउन ५ गतेसम्म सम्बोधन गर्न दिइएको समयसीमालाई सरकारले पूर्ण रूपमा बेवास्ता गरेको छ। जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारका लागि सरकारको यही संवेदनहीनताका कारण म साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्दै छु,” भनेका छन्।
उनले सत्याग्रहबाट उत्पन्न हुन सक्ने कुनै पनि विषम परिस्थितिको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने चेतावनी पनि दिएका छन्।



















