हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिएको छ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत संविधानको धारा १६८(२) बमोजिम पार्टीको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराएका छन्। पत्रमा राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
एमालेले सरकारलाई दिएको समर्थन पनि आजैदेखि लागू हुने गरी फिर्ता लिएको जनाएको छ।
सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी थिए।
ती मन्त्रीहरू गत असार ३२ गते मन्त्रिपरिषद् बैठकपछि काठमाडौं गएका थिए भने राजीनामा बुझाउन मंगलबार राति हेटौंडा फर्किएका थिए।
मन्त्री मधुसुदन पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूमा सत्ता सहकार्यबारे भएको छलफलपछि पार्टी नेतृत्वले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो।
साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त नेतृत्वमा रहेको बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ।




















