काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जोखिमपूर्ण स्थानमा फसेका छन्।
मंगलबार राति आएको बाढीले स्थानीय करिब ७३ वर्षीय तसमान तामाङलाई गाई–बाख्राको गोठसहित बगाएको गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिए। तामाङको खोजी कार्य सुरु गरिएको भए पनि अहिलेसम्म अवस्था खुल्न सकेको छैन।
बाढीका कारण सिप्रिङ खोला जलविद्युत् केन्द्र (सिनर्जी हाइड्रोपावर) मा कार्यरत कर्मचारी सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा फसेका छन्। उनीहरू रहेको स्थान पनि असुरक्षित रहेकाले तत्काल उद्धार गर्न कठिन भइरहेको वडाध्यक्ष शेर्पाले बताए। खोलामा लगातार बाढी आइरहेकाले उद्धार कार्य प्रभावित भएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाका अनुसार प्रहरी टोली सिंगटी र रोल्वालिङबाट घटनास्थलतर्फ परिचालन भइसकेको छ। दुर्गम भूगोलका कारण पैदलै पुग्नुपर्ने भएकाले घटनास्थलमा पुग्न केही समय लाग्ने उनले बताए।
स्थानीयका अनुसार बाढीले सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम क्षेत्रमा समेत क्षति पुर्याएको छ। साथै खोलाले दुवै किनारको जमिन कटान गरेपछि आसपासका बस्तीमा थप जोखिम बढेको छ।




















