काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रमा बारम्बार हुने डुबानको प्राविधिक कारण पहिचान गरी समाधानसहितको प्रतिवेदन पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
मंगलवार साँझ डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौं तथा महानगरपालिकाका सम्बन्धित विभागका अधिकारीलाई विस्तृत प्रतिवेदन तयार गर्न निर्देशन दिएकी हुन्।
अनुगमन टोलीमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग तथा महानगर प्रहरी बलका प्रतिनिधिको पनि सहभागिता रहेको थियो।
प्रारम्भिक अध्ययनका क्रममा माइतीघर क्षेत्रमा ९० सेन्टिमिटर व्यासको ढल जडान गरिएको भए पनि निकास हुने स्थानमा ६० सेन्टिमिटर व्यासको मात्र ढल रहेकाले पानीको बहाव अवरुद्ध भई डुबान हुने सम्भावना देखिएको अधिकारीहरूले बताएका छन्। साथै, माइतीघर मण्डला आसपास निर्माण भएका संरचनाले पनि ढल निकास प्रणालीमा असर पुर्याएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासन तथा पूर्वाधार निर्माण र सेवा प्रदायक निकायसँग समन्वय गरी माइतीघर क्षेत्रलाई दीर्घकालीन रूपमा डुबानमुक्त बनाउने गरी आवश्यक योजना अघि बढाइने बताइन्।





















