काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पार्किङ गरिएको कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार मंगलबार बिहान करिब ११:२० बजे कीर्तिपुरस्थित ट्यांग्लाफाँटको चाँदनी चोकमा पार्किङ गरिएको बा ५ च ३०३८ नम्बरको कारमा अचानक आगलागी भएको हो।
आगलागीका क्रममा कारभित्र चालक सिटमा रहेका एक पुरुषको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सिट बेल्ट बाँधेको अवस्थामा मृत फेला परेका थिए।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार उक्त कार नबिल बैंकको नाममा दर्ता रहेको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र आगलागी तथा मृत्युबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




















